आज मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेन्डा ?


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने अनुमान गरिए पनि त्यसबारे एजेन्डा नै नभएको बताइन्छ । किनकि गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक नै बस्न सकेको छैन । जसकारण गभर्नर नियुक्ति सिफारिस नभएकाले पनि आज गभर्नर नियुक्तिको सम्भावना नरहेको बताइन्छ । प्रधानमन्त्री ओलीले बिहीबारसम्म गभर्नर नियुक्ति हुने भनेर सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वासन दिइसकेका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा भारत र पाकिस्तानबीच उत्पन्न तनावबारे पनि छलफल हुने बुझिएको छ । सार्क क्षेत्रमा देखिएको तनावबारे नेपालले अहिलेसम्म आफ्नो मुख खोलेको छैन । जकि नेपाल सार्कको अध्यक्ष राष्ट्र पनि हो । यस्तो अवस्थामा के गर्ने भन्ने सामूहिक निर्णय लिन पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर छलफल गर्न लागेको बुझिएको छ ।

दुई साताअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंकवादीले एक नेपालीसहति २७ जनाको हत्या गरेका थिए । त्यसकै जवाफस्वरुप भारतले बुधबार बिहान पाकिस्तानमाथि सैन्य आक्रमण गरेको हो ।