काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई दिनदेखि सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् । मंगलबारयता उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
हरेक दिनजसो कुनै न कुनै कार्यक्रममा देखिरहने प्रचण्ड दुई दिनदेखि घरमै आराम गरेर बसेका छन् । मंगलबार राति ललितपुरको लाँकुरी भञ्ज्याङस्थित टेरेसा रिसोर्टमा बास बस्न पुगेका प्रचण्ड सोही दिन मध्यराति घर फर्केका थिए । रिसोर्टको बाथरुममा लडेका प्रचण्ड रात बास नबसी परिवारसहितै फर्किएका हुन् । रिसोर्टबाट सिधै नख्खुस्थित मेडिसिटी अस्पतालमा चार घन्टा उपचार गराएर फर्किएका प्रचण्ड बाहिर निस्केका छैनन् ।
प्रचण्डकी कान्छी छोरी गंगा दाहालले बुधबार बिहान सामाजिक सञ्जालमार्फत बुबा बारुथममा लडेर सामान्य घाइते भएको र अवस्था ठीक भएको भन्दै नियमित काममा फर्केको जानकारी गराएकी थिइन् । तर प्रचण्डको स्वास्थ्य अवस्था सामान्य नरहेको बुझिएको छ । निधार र टाउकोमा टाँका लगाउनुपर्ने गरी लडेकाले पनि उनलाई बाहिर निस्कन अप्ठेरो महसुस भएको माओवादी नेताहरु बताउँछन् । गंगाले भने प्रचण्डलाई टाँका लगाएको जानकारी दिएकी थिइनन् । तर अस्पतालका चिकित्सकले यसबारे सम्पूर्ण जानकारी दिएपछि खुमलटारलाई गल्ती सच्याउन निकै सकस परेको देखिन्छ ।
प्रतिक्रिया