काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक हुँदा धक्का व्यहोरेका राजावादीहरूले आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसकै दिन राजसंस्था र हिन्दु राष्ट्र माग्दै अनिश्चितकालीन आन्दोलन गर्ने भएका छन् । त्यसका लागि नवराज सुवेदीको नेतृत्वमा सबै राजावादी दल र समूह एकै ठाउँ भेला भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेना नेपाल, नेपाल प्राज्ञिक मञ्चलगायत बिहीबार एकै ठाउँमा उभिएर आन्दोलनको घोषणा गरेका हुन् ।
‘सनातन धर्म संस्कृति र परम्परामाथि नियोजित आक्रमण भइरहेको छ । धर्मान्तरणको डढेलो देशको सबै भागमा डरलाग्दोसँग फैलिएको छ । नेपालको राजनीतिमा बाह्य शक्तिहरूको दवाव र प्रभाव तीव्ररुपले बढिरहेको छ । नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने टडकारो खतरा देखिँदै छ । नेपाली जनताको सार्वभौम निर्णायकत्व संकुचित हुँदैछ । अन्तर्राष्ट्रिय जगतमा नेपालको बिश्वसनीयतामा ठूलो ह्रास आएको छ ।
यो पृष्ठभूमीमा विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देश र जनतालाई मुक्त तुल्याउनु वर्तमान समयको मुख्यका अभिभारा हो । जनताको अवस्थामा परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य हुन गएको छ,’ संयुक्त जनआन्दोलन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले परिवर्तनकारी शक्ति र बिचार तथा परम्परागत शक्ति र विचारको बिचमा सामाञ्जस्यता कायम गर्दै सबै बिचारधारा र शक्तिहरू अटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापना तथा केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरूप अहिलेको भन्दा बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुईतहको सरकारको स्थापना गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
पत्रकार सम्मेलनमा नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत उपस्थित थिए ।
प्रतिक्रिया