काठमाडौँ । अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापरवाही गरेपछि काठमाडौँ महानगरपालिकाले बसुन्धरामा रहेको बिपी स्मृति अस्पतालको फोहर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ ।
स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउन्डमा राखेर दुर्गन्ध फैलाएकाले नियन्त्रण गर्न अनुरोध गरेका थिए । सेन्टरले केस नम्बर ३४,१३५ मा गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागका पठाएको थियो । गुनासोकर्ताले गत सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागकी वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी वलका प्रतिनिधिसहित अनुगमनमा गएका थिए ।
अनुगमनका क्रममा फोहर व्यवस्थापनको अभ्यास हेर्नेक्रममा अस्पतालका डेपुटी म्याटर्न भाइकुमारी गुरुङले अटोक्लेभ गर्ने भनिएको कोठामा पु¥याउँदा दैनिक पाँच किलोग्रामसम्म हानीकारक फोहर निर्मलीकरण गर्ने गरिएको अटोक्लेभ मेसिन देखाएका थिए । त्यो ठाउँ र अटोक्लेभ मेसिनको बाहिरी भाग धुलोले ढाकिएको देखेर अनुगमन टोलीले निर्मलीकरण गरिएको भनेर पत्याएन ।
त्यसपछि फोहर व्यवस्थापनमा खटिने दुईजना महिलाहरुले फोहरको पोको ल्याए । भुइँमा प्लास्टिक विछ्याएर पोको खोलियो । फोहरको पोकाको बाहिर कपडाको झोला थियो । त्यसभित्र प्लास्टिकले बाँधिएका सानाठुला धेरै पोका थिए । पोकाभित्र राखिएको सबै फोहर आलो नै थियो । वस्तुको कुनै पनि रङ परिवर्तन भएको थिएन । हेर्दाहेर्दै यो अवस्था देखिएपछि गुरुङले सच्याउँदै भने, ‘प्लास्टिकमा पोको बाँधेर हाल्न नहुने, गल्ती भएछ ।’ गुनासोकर्ताले गुनासो गरेजस्तै अस्पतालको कम्पाउन्डमा फोहर राखेर दुर्गन्ध फैलिएको थिएन । अस्पतालको कम्पाउन्डको स्वच्छतामा भने कमजोरी थियो ।
यसअघिका अनुगमनमा पनि मापदण्ड बुझाउँदै महानगरपालिकाले चाहेको वातावरणीय अवस्थाका विषयमा अस्पताललाई बुझाइएको जनाएको छ । अस्पतालको फोहर टोखाबाट सञ्चालित हिमालयन प्रालिले संकलन गर्ने गरेको छ । अनुगमनका क्रममा वरिष्ठ अधिकृत महर्जनले, महानगरपालिकाले हुन्छ नभनेसम्म फोहर संकलन नगर्न निर्देशन दिए ।
ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउन सकिन्छ । यही कसुर दोहो¥याएमा पहिलोपटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया