माओवादी महासचिव देव गुरुङ पाकिस्तानको पक्षमा, भारतले क्षेप्यास्त्र आक्रमण गर्नु दुःखद


काठमाडौं । माओवादी महासचिव पाकिस्ताको पक्षमा उभिएका छन् । दुई साताअघि जम्मु कश्मीरको पहलगाममा २७ हिन्दुको हत्या गरेको बदलामा भारतले बुधबार बिहान पाकिस्तानका विभिन्न नौ स्थानमा मिसाइल आक्रमण गरेको थियो । आक्रमणबारे नेपाल सरकार र ठूला दलले औपचारिक रूपमा केही नभने पनि नेताहरुले स्वतन्त्र ढंगले विचार राखिरहेका छन् ।

माओवादीले आधिकारिक रुपमा केही भनेको छैन । उपमहासचिव जनार्दन शर्माले भारतको सवपोर्ट गरेको केही घन्टामै माओवादी महासचिव देव गुरुङले भारतको विरोध गर्दै पाकिस्तानको पक्षमा उभिएका छन् । उनले पहलगाममा पाकिस्तानलाई आरोपित गरी पाकिस्तानमाथिको आक्रमणलाई न्यायोचित मान्न नसकिने स्पष्ट पारेका छन् ।

‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ। यो अत्यन्तै दुःखद विषय हो। भारतले आक्रमणको कारण केही दिन अगाडि कास्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ। निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नै पर्छ। तर उक्त पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिँदन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन,’ गुरुङले भनेका छन् ।

उनले सैन्य कार्यबाही अविलम्व बन्द गरी दुबै मुलुकविचमा संवाद गरिनुपर्ने पनि बताएका छन् । पहलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तर्राष्ट्रिय कमिसन गठन गरी छानविन गरिनुपर्ने उनको माग टछ । ‘भारत र पाकिस्तान दुबै नेपालको छिमेकी मित्रराष्ट्र हो। दुबै मुलुकसंग नेपालको दौत्य सम्बन्ध छ। छिमेकीहरुविचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ। यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र र पन्चशीलको सिद्वान्तको आधारमा नेपाल मौन बस्न मिल्दैन। नेपालले युद्व होइन, शान्तिको पक्ष लिनै पर्छ। शान्तिका लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ,’ गुरुङले भनेका छन् ।