काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ। उनको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो।
मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। पूर्वप्रधानमन्त्री नेपाललाई सघन उपचार कक्षमा राखिएको छ। उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
काभ्रेको नगरकोटस्थित आठ सयभन्दा बढी सरकारी जग्गा पतञ्जली योगपीठलाई दिने नीतिगत निर्णयमा नेपाल मुछिएका छन् । २०६६ सालमा प्रधानमन्त्री हुँदा नेपालले गरेको नीतिगत निर्णयका आधारमा सरकारी जग्गा पतञ्जली योगपीठलाई बिक्री गरिएको थियो । तर पछि पतञ्जलीले अरुलाई नै बिक्री गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान थालेको छ । अख्तियारले नेपाललाई कार्यालयमै बोलाएर यस विषयमा बयान लिएको दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया