कीर्तिपुरको डाँडामा डुलाउँदै चिया बेच्ने जोन मगरको व्यथा


प्रेम ओली

उदयपुर गाईघाटका २५ वर्षीय जोन मगर कलेज पढ्ने उमेरका छन् । तर उनको दिनचर्या कीर्तिपुरको डाँडामा डुलाउँदै चिया बेच्नमै बित्ने गरेको छ । हामीले भेट्दा उनी कीर्तिपुरको डाँडामा क्रिकेट खेलिरहेकालाई चिया बेच्दै थिए । उनलाई हामीले ‘तपाई कति वर्षको हुनुभयो भनेर सोध्यौँ’ । उनले मास्क खोल्दै भने, ‘धेरै भए २० वर्ष जति भएँ होला ।’

उनी २०५७ सालमा जन्मेका रहेछन् । त्यसैले जोन अहिले २५ वर्षका भए । आफ्नो उमेरसमेत याद नभएका जोन आफ्नो पेट पाल्नकै लागि भविष्य बनाइरहेका खेलाडीलाई दिनहुँ चिया बेचिरहेका छन् । जोनले सानो छँदा गाउँकै प्राथमिक विद्यालयमा पढे । रुखबाट घाँस झारिदिनेदेखि ज्यालादारीमा काम गर्दै कक्षा ५ सम्म पढे । उनको पढाइ खासै राम्रो हुन सकेन । बिहान के खाउँ ? बेलुका के खाउँ ? भन्ने घरको अवस्था थियो । सानैदेखि परिवारको जिम्मेवारी काँधमा आएको थियो । घरका कान्छा छोरा उनलाई घरपरिवार चलाउने जिम्मेवारी पनि थाप्लोमा आयो । वृद्ध बुबाआमालाई पाल्नुपर्ने जिम्मेवारीले बाँधिएका उनी १५ वर्षको उमेरमा काठमाडौं छिरे । उनी जस्तै सामान्य लेखपढ मात्र जानेका उनका दाइ पनि उनीसँगै काठमाडौं आए ।

सहरमा आफ्नो भविष्य खोजिरहेका दुई दाजुभाइ कहिले ज्यामी काम त कहिले सेफ्टी ट्यांकी सफा गर्ने, बल्खुको तरकारी बजारमा तरकारीको डोकोे बोक्ने कामसमेत गरे । ठेकेदार २४ दिनको ज्याला नदिई भागेपछि दुई भाइले घर बनाउने काम छाडे । त्यसपछि जोनका दाजुले तरकारीको भारी बोक्न सुरु गरे । सुरुसुरुमा जोन पनि दाजुसँगै भारी बोक्न थाले । तर उनको खुट्टामा चोट लागेकाले खुट्टा दुख्न थाल्यो त्यसपछि उनी काम गर्न नसक्ने अवस्थामा पुगे । बिहानै ४ बजे उठेर दाइ आफ्नो काममा जान तयार हुन्छन् । त्यतिबेला जोनले खाना पकाएर टिफिनमा भात, दाल र तरकारी प्याक गरिदिन्छन् । दाइको कमाईले घरभाडा र खाना खर्च धान्नसमेत मुस्किल हुन थालेपछि जोन केही काम गर्ने निधोमा पुग्छन् ।

आफ्नो नामसमेत राम्ररी लेख्न नसक्ने जोनले सजिलै काम पाउने सम्भावना थिएन । बल्खु चोकमा चिया–चुरोट बेचिरहेका बुढाबुढी देखेपछि उनले पनि चिया बेच्ने सोच बनाए । उनले दाइसँग पैसा मागेर दुईवटा थर्मस किने, त्यसपछि कोठामै चिया बनाएर चिया बेच्न सुरु गरे । एक कप कालो चिया १० रुपैयाँ र दूधको चिया २० रुपैयाँमा बेचे । पहिलो दिनमै दुई थर्मस चिया बेच्न सफल भए । त्यसपछि चिया बेचेरै केही हुन्छ भन्ने आश उनमा पलायो । त्यसपछि जोनले लेमन टी, चुरोट, गुट्का पनि बेच्न थाले ।
खुट्टाले साथ नदिएपछि जोनले चिया बेच्न थालेको डेढ वर्ष मात्रै भयो । ‘सबैभन्दा धेरै कमाई भएको दिन कति रकम बचत हुन्छ’ भन्दा उनले भने, ‘तीन सय रुपैयाँ जति कमाउँछु । त्यो पैसा कोठाभाडा, खाना खर्च र बिरामी खर्चमै ठिक्क हुन्छ । दाइको कमाई पनि मेरै हाराहारीमा हुन्छ, तर घरमा प्रत्येक महिना पैसा पठाउनुपर्छ । बा छुट्टिँदा बारी रोज्नुभयो, त्यसैले आकाशेबालीको भर पर्नुपर्छ, खेत नभएकाले चामल किनेरै खानुपर्छ ।’

घरपरिवार सम्झेर भावुक हँुदै उनी भन्छन्, ‘उमेरले ७० वर्ष पुगिसकेका बुबाआमा काम पनि गर्न सक्नुहुन्न । भएको एउटा बारी पनि वडाको भवन बनाउँदा वरपरबाट भिरालो भएर पहिरोले बारी नै सानो बन्दै गएको छ । हामी गरिब भएर होला सबैले हेप्छन् । बारी पनि त्यही समाजले खाइदियो ।’ एउटा बहिनी जसले काम गर्दै पढ्नुपरेकाले पढाइ बिग्रिएपछि घरमै बसेको उनी बताउँछन् ।

यसरी डुलाएर भन्दा सटर खोलेर चिया नास्ता पसल खोले राम्रो हुन्छ नि भनेर हामीले सल्लाह दियौं । उनले भने, ‘हामीले पनि त्यही सोचेर एउटा सटरमा भाडा सोधेको महिनाको ३३ हजार रे । म त झन्डै ढलिनँ । यहाँ दिनको एक हजारको व्यापार हुँदैन, कहाँ पसल खोल्नू । यसरी नै डुलेरै बल्खुदेखि कीर्तिपुरसम्म चिया बेच्दै हिँड्दा ठ्याक्कै दुई थर्मस चिया बिक्छ । चिया सकेरै कोठामा फर्किन्छु । तीन सय आम्दनी हुन्छ, मलाई पुगिहाल्छ । केही ठूलो सपना छैन ।’

दिनहुँजसो चिया बेच्दैमा फुर्सद नभएका उनीहरूलाई घरपरिवारको याद आउँछ । तर घर जाँदाआउँदा धेरै पैसा सकिने भएकाले लामो ग्यापपछि मात्रै घर जाने गर्छन् । अब एकैचोटि तिहारमा मात्रै घर जाने सोच उनले बनाएका छन् । ‘म बाँचेकै परिवारका लागि हो, जबजब यो व्यस्त सहरमा आफूलाई एक्लो महसुस गर्छु, तब आमाबाको धेरै याद आउँछ । भेट्न मन लाग्छ । तर के गर्नु यहाँ काम पनि गर्नै पर्याे जाँदा आउँदा भाडामा धेरै सकिन्छ,’ जोनले आफ्नो बाध्यता सुनाए ।

चिया बेच्दा ग्राहकबाट के कस्तो प्रतिक्रिया आउँछ भन्दा उनी भन्छन्, ‘चिया राम्रो छ, बाक्लो छ दैनिक आउ है भाइ भन्नुहुन्छ । कहिलेकाहँ चिया, चिया , चिया…. भनेर जिस्क्याउनु हुन्छ । सबैभन्दा बढी प्रेम–प्रेमीका जोडी र खेलाडीहरूले खानु हुन्छ । मलाई चिया आयो चिया भन्दा सुरुमा लाज लाग्थ्यो, तर अहिले बानी परिसकेकोे छ । मैले त चिया कराएरै बेच्छु त्यसैले धेरै बिक्छ ।’