भारतसँग युद्धविरामपछि पाकिस्तानमा खुसियाली


काठमाडौं । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । भारत विदेश सचिव विक्रम मिश्रीले नयाँ दिल्लीमा शनिबार आयोजित पत्रकार सम्नेलनमा दुवै देश तत्काल युद्धविराम गर्न सहमति भएको जानकारी दिएका छन् । ‘पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले आज दिउँसो १५ः३५ बजे भारतीय समकक्षीलाई फोन गरे।

त्यसक्रममा हामीबीच सहमति भएको छ कि दुवै पक्षले भारतीय समयअनुसार सॉझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्नेछन्। यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ। सैन्य अपरेशन महानिर्देशकहरूले आइतवार दिउँसो १२ बजे फेरि वार्ता गर्नेछन्।’ भारतले अब हवाई आक्रमण नगर्ने भएको छ । पाकिस्तानी विदेशमन्त्री इशाक दरले पनि युद्धविराम भएको पुष्टि गरेका छन् ।

उनले युद्धविरामको सहमति भएको पुष्टि गर्दै पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन्। ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहँदै आएको छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। युद्धविराम भएसँगै पाकिस्तानले आफ्नो देशको हवाई स्पेस खुला गरेको छ । युद्धविराम घोषणापछि पाकिस्तानमा खुसियाली मनाइएको छ ।

युद्धविरामको घोषणासँगै पाकिस्तानको मुल्तानमा सर्वसाधारणले मिठाइ बाँडेर खुसीयाली मनाएका छन्। सडकमा उभिएर एकअर्कालाई मिठाइ खुवाउँदै स्थानीयले शान्तिको सन्देश फैलाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रातभरको प्रयासमा भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको जानकारी गराएका छन् । तीन दिनदेखिको भारत र पाकिस्तान तनावले विश्वमा अर्को युद्धको खतरा बढेको थियो ।