काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण गिजोलिएको छ । आफैं गभर्नर बन्ने धूनमा कामु गभर्नर निलम ढुंगानाले डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि घटनाक्रम नयाँ ढंगले विकसित भएको हो ।
भट्टलाई गभर्नर बनाउने प्रयास पेचिलो बनेपछि कांग्रेसले अर्थविद् डा. विश्व पौडेललाई नयाँ गभर्नरको रुपमा अगाडि सार्ने भएको छ। शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले यदि भट्टलाई गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रस्ताव गरेको बुझिएको छ ।
‘भट्टजीलाई गभर्नर बनाउन नसकिएपछि सभापतिले नयाँ नाम दिनुपरेको हो,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘विश्व पौडेलको नाम अहिले नयाँ गभर्नरमा प्रस्ताव भएको हो।’ पौडेल आफैं गभर्नर सिफारिस समितिका सदस्य छन्। अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सो समिति छोडेपछि समितिले पूर्णता पाएपछि मात्र उनको नाममा छलफल हुन सक्छ। पौडेलले आइतबार नै समिति सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् ।
भट्ट गभर्नर नबने ज्ञानेन्द्र ढुंगानालाई बनाउने विषयमा कांग्रेसभित्र छलफल भएको थियो । तर ढुंगानालाई उद्योगपति विनोद चौधरीले बोेकेका कारण स्वार्थ बाझिने स्थिति देखापरेपछि पौडेलको नाम बाहिर ल्याइएको हो । पौडेल परराष्ट्रमन्त्री आरजु राणा देउवा निकट मानिन्छन् । यदि पौडेलको नाम सिफारिस भएमा निलम ढुंगानाको एक महिनादेखिको प्रयास खेर जाने निश्चित छ ।
प्रतिक्रिया