‘ऊनको स्विटर’ले २ दिनमा कति कमायो ?



फिल्म ‘ऊनको स्विटर’ले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको छ । नेपाली फिल्मको व्यापारमा खडेरी लागिरहेको समयमा यो फिल्मले केही उत्साह थपेको छ ।

नविन चौहानको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले विकास बोर्डको बक्स अफिस आँकडा अनुसार दुई दिनमा १ करोड ३७ लाखको ग्रस कलेक्शन गरेको छ । शुक्रबार सुखद ओपनिङ गरेको फिल्मले शनिबार आक्रामक व्यापार गरेको थियो ।

भोलि सोमबार पनि सार्वजनिक बिदा भएकाले गर्दा यो फिल्मको व्यापार अझै बढ्नेछ । फिल्मलाई दर्शकले मन पराएका कारण पनि यो फिल्म लामो रेशको घोडा बन्न सक्छ ।

नविन चौहानको निर्देशनमा तयार भएको यो फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परिक्षा लिम्बु, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ ।

शनिबार देशभरका हलमा दर्शकको उच्च चाप देखियो । जसकाकारण, डेब्यू निर्देशन रहेको फिल्ममा नै नविन चौहान सफल देखिएका छन् । साथमा, यो फिल्मको व्यापारमा सुजन चापागाँई र झुमा लिम्बुको गीतले ठूलो सहयोग गरेको छ ।

दर्शकले फिल्मको गीतसंगीत र छायांकनपक्षलाई अब्बल मानेका छन् ।