‘सगरमाथा संवाद’ का लागि भारतले नेपाललाई दियो १५ वटा विद्युतीय गाडी


काठमाडौं । आगामी जेठमा हुन लागेको ‘सगरमाथा संवाद’ का लागि भारतले नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । नेपालका लागि भारती राजदूत नवीन श्रीवास्तवले आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारीसाधन हस्तान्तरण गरेका छन् ।

यी सवारी साधन १६–१८ मेमा काठमाडौँमा आयोजना हुने ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहज बनाउन भारतले नेपाल सरकारलाई उपहार दिएको हो । भारतीय दूतावासले नेपाल सरकारको अनुरोधमा सवारीसाधन सहयोग उपलब्ध गराइएको जनाएको छ ।

परराष्ट्रमन्त्री राणाले संवादको आयोजनालाई सहजीकरण गर्न भारतको सहयोगका लागि कृतज्ञता व्यक्त गरिन् । उनले नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारहरूमध्ये एकको रूपमा भारतको भूमिका रहेको उल्लेख गरिन् ।
भारतीय राजदूत श्रीवास्तवले यी सवारीसाधनले संवादको समयमा पाहुना र अधिकारीहरूको आवागमनलाई सहज बनाउन मद्दत गर्ने उल्लेख गरे । उनले सगरमाथा संवादको सफलताको कामना पनि गरे ।