तीनकुने घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ


काठमाडौं । प्रहरीले गत चैत १५ गतेको तीनकुने हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।

उनलाई आइतबार सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए ।

बस्नेत दुर्गा प्रसाईको नेतृत्वमा राजावादीले आयोजना तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए । प्रदर्शनलाई उत्तेजित बनाउन सहयोग गरेको उनीमाथि आरोप छ । सोही घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अहिलेसम्म पनि प्रहरी हिरासतमै छन् । उनीविरुद्ध संगठित अपराध र उपद्रवको कसुरमा अनुसन्धान भइरहेको छ ।