रविको मुद्दा आज पनि हेर्न नमिल्ने सूचीमा, किन लम्बिँदैछ सुनुवाइ ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको छ ।लामिछानेको रिट आइतबार न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको थियो ।

नारायण पहराईसमेतको जाहेरीले रवि र छविलाल जोशीविरुद्ध परेको सहकारी ठगीसम्बन्धी मुद्दा पनि आइतबार पोखरेल र ढकालकै बेञ्चमा पेशीमा चढेको थियो । यी दुवै मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेका हुन् । न्यायाधीशद्वय पोखरेल र ढकाल यसअघि रविको मुद्दाको सुनुवाइमा संलग्न रहेकाल हेर्न नमिल्ने सूचीमा परेको हो ।

गत वैशाख ७ गते निकिता पौडेलले रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरले उक्त आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउन भनेपछि रवि यतिबेला भैरहवा कारागारमा छन् ।

उनी कारागारमै रहेका बेला नारायण पहराई र गीता आचार्यले सामाजिक सञ्जालमार्फत आफूहरूले रविलाई कारबाही गर्न प्रहरीमा उजुरी नदिएको दाबी गरेका छन् । सुरुमा पहराई र त्यसपछि आचार्यले आफूले व्यक्ति तोकेर रविलाई कारबाही गर्न नभनेको, उजुरी हाल्दा प्रहरीले आफूहरूसँग एकपटक नसोधेको भन्दै आपत्ति जनाएका छन् ।