काठमाडौं । प्रधानमन्त्री केपी ओली आइतबारको प्रतिनिधिसभा बैठकमा कडा रूपमा प्रस्तुत भए । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओली अरु दिनभन्दा आज अलि कडा नै सुनिए । उनले प्रमखु प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राजावादीहरूमाथि पनि प्रहार गरेका छन् ।
ओलीले माओवादी अध्यक्ष प्रचण्डले ऐना अगाडि राखेर अरुलाई गाली गरेको टिप्पणी गरे । उनले विपक्षीले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको बताए । ‘आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने आग्रह हो । म सवाल–जवाफमा गइनँ,’ उनले भने । उनले जनताको आशा भरोसालाई ध्यान दिएर प्रस्तुति दिन आग्रह गरे । सदनलाई कुन्ठा पोख्ने थलो बनाउन नहुनेसमेत बताए ।
ओलीले सरकारले कसैको हकअधिकार नखोसेको बताउँदै गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले प्रश्न गरे, ‘चैत १५ को योजनाकार को हो ? चैत १५ जन्माउने मातापिता को ? तपाईं हो भन्दा म होइन भन्छ ? के ती घर आफैँ दशा लागेर जले ? जडिबुटीको औषधि कारखाना दिक्क लागेर आत्मदाह गरेको हो ? जलाउने मान्छे को हो ?’
ओलीले संविधानको धारा २७० ले सबैलाई हकअधिकार दिएको बताउँदै भने, ‘एकजना माननीयले बोलेको सुनेँ– कि राजा ल्याउने सम्झौता गर होइन भने भाग्न तयार होऔ ? ढलेको मक्केको संस्थाबाट नेपाली जनतालाई ललकार्ने ? नेपाली जनता भाग्ने छैनन् । यस देशका सबैभन्दा बढी हकदार हुन् । नेपाली जनता भाग्ने होइन । हामीलाई भनेको हो ? भाग्ने भनेको ।’ उनले राप्रपाका सांसदहरुप्रति संकेत गर्दै भने, ‘तपाईंहरु जवान हुनुहुन्छ भाग्न मिल्छ । हामी बूढा कहाँ भाग्ने ? संविधानको उल्लेख गर्ने संविधान नमान्ने ? चाहिएको बेला त्यही संविधानको धारा चाहिँदो रहेछ त ।’
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको बताए । ‘एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति–कार्यक्रमको कोर्स करेक्सन वा परिवर्तन पनि हो,’ उनले भने । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै नयाँ कार्यक्रम ल्याइएको बताए ।
ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्त्वपूर्ण विधेयकहरू शीघ्र पारित गर्न सदनलाई आग्रह गरे । उनले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक छिटो पारितका लागि आग्रह गरेका हुन् । यसैगरी, विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक छिटो पारित गर्न आग्रह गरे ।
प्रतिक्रिया