सरकारको नीति तथा कार्यक्रम पारित भएको सभामुखको घोषणा


काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी ओलीले आइतबार जवाफ दिएका थिए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा विभिन्न सांसदले ३७ वटा संशोधन दर्ता गरेका थिए । तर ती सबै संशोधन अस्वीकृत भएका छन् ।
नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो खुल्नेछ । अहिले राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले नीति तथा कार्यक्रममाथि सोधेको प्रश्नको जवाफ दिइरहेका छन् । नीति तथा कार्यक्रम पारित भएपछि संसदमा प्रि–बजेटमाथि छलफल प्रारम्भ हुनेछ ।