युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने– पुटिनलाई भेट्न तयार छु


काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न आफू तयार भएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्धविरामका लागि प्रत्यक्ष वार्ता प्रस्ताव गरेलगत्तै जेलेन्स्कीले बिहीबार टर्कीको राजधानी इस्तानबुलमा रुसी राष्ट्रपति पुटिनलाई ‘व्यक्तिगत रूपमा भेट्न तयार रहेको बताएका हुन् ।

सामाजिक सञ्जाल एक्समा उनले रुसी राष्ट्रपति पुटिनलाई सम्बोधन गर्दै ‘टर्किएमा म पर्खिरहेको हुनेछु’ भनेर लेखेका छन् । जेलेन्स्कीले यसपटक रसियाले कुनै बहाना नबनाओस् भनेर सचेतसमेत गराएका छन् । यसअघि जेलेन्स्कीले युद्धविराम भएपछि मात्र आफ्नो देश रुससँग वार्ता गर्न खुला रहेको बताएका थिए ।

युरोपेली नेताहरूले किएभमा शनिबार ‘इच्छुकहरूको गठबन्धन’ को नेतृत्व गरेपछि पश्चिमी शक्तिहरूले सोमबारदेखि ३० दिने युद्धविरामको आह्वान गरेका थिए । पुटिनको प्रत्यक्ष वार्ताको प्रस्ताव त्यस हस्तक्षेपपछि आएको हो । रुस र युक्रेनले मस्कोले आक्रमण सुरु गरेलगत्तै मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए । तीन वर्षभन्दा बढी समयपछि दुवै पक्ष सैद्धान्तिक रूपमा वार्ता पुनः सुरु गर्न सहमत भएका छन् । पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता भएमा युद्ध रोकिनेमा संसारले विश्वास गरेको छ ।