गभर्नर बनाउने नेताहरूको आश्वासनमा धमाधम राजीनामा, चारजनाको पद चैट


काठमाडौं । झन्डै दुई तिहाइ बहुमतको सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा निकै आलोचना खेप्नुपरेको छ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले स्वायत्त संस्थाको नेतृत्व नियुक्तिमा खेलबाड गरिरहेको आरोप लागेको छ ।

गभर्नर नियुक्तिसम्बन्धी कानुनी व्यवस्थाको उल्लंघन गर्ने मात्रै होइन, भागबन्डाका नाममा पटक–पटक फरक–फरक पात्रहरू अघि सार्दै मन परेको व्यक्तिलाई अघि सार्दै फाल्दै गरेका छन् । पछिल्लोपटक सिफारिस समितिको सदस्य रहेका कांग्रेस नेता डा. विश्व पौडेललाई नै राजीनामा दिन लगाएर गभर्नरमा अघि सारिएको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले गभर्नर बनाउन आफूनिकट राष्ट्र बैंककै अधिकारीहरू तथा बैंकरहरूलाई आश्वासन दिएका थिए । त्यसकै आधारमा चारजनाले खाइपाइ आएको पदबाट राजीनामासमेत दिइसकेका छन् । सुरुमा एमालेनिकट मानिने राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका थिए । अर्थ मन्त्रालय एमालेकै भागमा रहेकाले नेताहरूको आश्वासनअनुसार पाउने उनको विश्वास थियो । तर, गभर्नर पद कांग्रेसको भागमा परेपछि उनकै आग्रहमा राजीनामा डिसमिस पारियो ।

कांग्रेस सभापति देउवाको आश्वासन पाएपछि गभर्नर बन्ने दौडमा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पनि पदबाट राजीनामा दिइसकेका छन् । गभर्नरकै आकांक्षी कामु गभर्नर निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि नियुक्ति प्रक्रिया नै पेचिलो बनेको छ । भट्टको राजीनामा अहिले पनि विचाराधीन नै छ । कांग्रेसकै केही नेताले नबिल बैंकका पूर्वसिइओ ज्ञानेन्द्र ढुंगानालाई पनि गभर्नरको आश्वासन दिएका थिए । त्यसकै आधारमा उनले पनि राजीनामा दिए ।

आइतबार गभर्नर सिफारिस समितिको सदस्य रहेका विश्व पौडेलले राजीनामा दिएका छन् । भट्टको राजीनामा स्वीकृत नभएपछि देउवाले पौडेललाई अघि सारेका हुन् । त्यसकै तयारीअनुसार आफूले राजीनामा दिएको उनले बताएका छन् । यदि पौडेल गभर्नर नियुक्ति भए भने निलम ढुंगानाले भट्टको राजीनामा तत्काल स्वीकृति गरिदिने सम्भावना छ । यसबाट गभर्नर नियुक्ति प्रकरणले सबैभन्दा बढी घाटा भट्टले बेहोर्नुपर्ने हुन्छ ।