जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका अनधिकृत संरचना हटाउन चल्ने भो डोजर


काठमाडौँ । जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चल्ने भएको छ ।

सोमबार काठमाडौँ महानगरपालिका र सडक विभागले संयुक्त सूचना जारी गर्दै जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडक सीमाका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।

‘सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५÷१५ मिटर सडक कायम रहेको हुँदा सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा वैशाख १० गते सडक सीमाको सीमांकन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिहरूबाटै हटाउन–भत्काउन मुनासिब माफिकको म्याद तोकी सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

तोकिएको म्यादभित्र अनधिकृत संरचनारू नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधि र कार्यालयको निर्णयबमोजिम कारबाही गरिनेसमेत सूचनामा उल्लेख छ । काठमाडौंको न्युरोडमा सडक विस्तारका विषयमा काठमाडौं महानगरपालिका र सडक विभागबीच जुहारी चलेको थियो । तर, यसपटक भने संघीय निकाय र स्थानीय सरकार दुवै मिलेर पेप्सीकोला सडक दायाँबायाँका अनधिकृत संरचना हटाउन लागिपरेका छन् ।