ओलीले लुम्बिनी पुगेर भने– हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति रोकियो


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूको आग्रह र कुराकानीकै कारण भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको बताएका छन् । बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी पुगेका ओलीले विशेष समारोहलाई सम्बोधन गर्दै दुई छिमेकीबीच झन्डै हात हालाहाल र लडाइँको अवस्था उत्पन्न भइसकेको, तर आफूहरूको कुराकानी र आग्रहलाई मध्यनजर गर्दै दुवैले युद्ध िवराम गरेको दाबी गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्ध विरामको सहमति भएको भनेर सामाजिक सञ्जालमा लेखेपछि दुवै देशले सैन्य कारबाही रोकेका थिए । भारत र पाकिस्तानबीच युद्धविराम रोक्ने जस ट्रम्पले पाएका बेला ओलीले आफूहरूकै कारण दुई सार्क राष्ट्रबीच हात हालाहालको स्थिति रोकियो भनेपछि उनी अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।
‘हामीले दुई छिमेकीलाई टेन्सन बढ्न दिनु हुँदैन है भनेका थियो । कुराकानी पनि गरेका थियौं । भारत र पाकिस्तानबीच झन्डै हात हालाहालको स्थिति पनि आएको थियो । अलि अलि लडाइँ पनि भयो । तर अहिले रोकिएको छ,’ ओलीले भनेका छन् ।