काठमाडौं । एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रालिले विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट उधारोमा लिएको विद्युतीय सामग्रीको रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। मोरङ जिल्ला अदालतले पक्राउ आदेश जारी गर्दै गत असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थित गराइदिन आदेश दिएको थियो।
त्यसपछि गत साउन ६ गते काठमाडौं प्रहरी परिसरले पन्थी रुपन्देहीमै रहेको भन्दै जिल्ला प्रहरी कार्यालयलाई उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा उपस्थित गराउन निर्देशन दिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोही पत्रमा इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाउन तोक आदेश गरेको थियो। तर फरारको सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गर्न चासो देखाएको छैन । कपिलवस्तु वाणगंगा नगरपालिका राजपुरका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन्।
उनै पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा देखिए । प्रहरीको पक्राउको सूचीमा रहेका पन्थी प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा देखिएका हुन्। उनी लुम्बिनी प्रदेश सभामा निर्वाध पुगिरहेका छन् भने सार्वजनिक कार्यक्रममा पनि बाक्लै सहभागी हुँदै आएका छन् ।
तर सत्तारुढ दलको नेता भएकै कारण हातमा पक्राउ पुर्जी बोकेको प्रहरीले देखे पनि नदेखे झैं गरिरहेको देखिएको छ। सत्ताको आडमा अपराधमा सजाय तोकिएका सांसद यसरी निर्वाध हिँडिरहँदा पनि प्रहरी निरीह बनेको भन्दै आलोचना हुन थालेको छ ।
पल्लवी कम्पनीले ०७५ चैत ११ गते मुद्दा दर्ता गरेकोमा ०७७ मंसिर २३ गते जिल्ला अदालत मोरङले बाँकी रकम भराउने फैसला गरेको थियो। तर फैसला कार्यान्वयन नभएपछि कम्पनी फेरि अदालत पुगेको थियो। अदालतले गोरखापत्रमा सूचना प्रकाशित गर्न र भुक्तानी तिर्त १५ दिनभित्र आफैं अदालतमा आउने सूचना गरेको थियो। तर पनि सञ्चालकद्वय खनाल र पन्थी सम्पर्कमा नआएपछि अदालतले देवानी कार्यविधि संहिता २०७४ को दफा २४४ अनुसार जनही ६ महिना कैद गर्न आदेश भएको थियो। सोही आदेश पालना गर्न खोजीमा जुटेको प्रहरी सांसद पन्थी नजिक पुग्न हच्किएको छ ।
प्रतिक्रिया