फिल्म ‘नरसिंहाः अवतार’ रिलिज हुन अब केही दिन मात्र बाँकी छ । फिल्म रिलिजको मिति नजिकिदै गर्दा यसका कलाकारहरु प्रचारमा दौडधुप गरिरहेका छन् । यो फिल्म जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप उच्च छ । छोटो समयमा नै यो फिल्मको ट्रेलरले १० लाख बढी भ्यूज पाएको छ । फिल्मको ट्रेलर युट्युव ट्रेन्डिङको २ नम्बरमा छ ।
फिल्मको ट्रेलरमा मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराइले बोलेको संवाद सर्वाधिक चर्चामा छ । यो संवादमा टिकटक बनाउनेहरु पनि ह्वात्तै बढेका छन् ।
फिल्ममा राज र सनिषाको प्रेम देखाइएको छ । जहाँ, भनिएको छ–‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि विर्सन सकिदैन । तिमीलाई विर्सिएर कसरी सास फेर्नु ।’
राजको यो संवादपछि सनिषाले भन्छिन्–‘को हौं तिमी मेरो ।’ ट्रेलरमा समावेश यो संवाद अहिले चर्चामा छ । साथै, फिल्मको ट्रेलर सार्वजनिक भएपछि नायक राज कटुवालको एक्सनको पनि तारिफ भइरहेको छ ।
राज र सनिषा दर्शकले यो संवाद मन पराएकोमा दंग छन् । उनीहरुले, फिल्ममा दर्शकहरुले आफूहरुको प्रेमको विशेष पाटो हेर्न पाउने बताए ।
फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन् ।
यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया