काठमाडौं । अन्ततः डा.सिके राउतको मधेश केन्द्रित दलमध्ये सबैभन्दा ठूलो दलको अध्यक्ष बन्ने सपना पूरा नहुने भएको छ । उनी रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता गराएर प्रतिनिधिसभामा १० सांसदको नेता बन्न चाहन्थे । त्यसका लागि एकता घोषणा सभाको आयोजना पनि भइसकेको थियो । तर घोषणा सभा स्थलबाट रेशम चौधरी एकाएक पक्राउ परी डिल्लीबजार कारागार लगिएपछि एकता अनिश्चितकालका लागि स्थगित भएको छ ।
जनमत र नागरिक उन्मुक्तिबीच एकतापछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको थियो । पार्टी अध्यक्षमा सिके राउत, संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहने आन्तरिक सहमति पनि जुटेको थियो । तर एक्कासि सर्वोच्च अदालत मुद्दा शाखाका कर्मचारी महिमानसिंह विष्टले टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीले अझै सजाय काट्न बाँकी रहेको भन्दै पक्राउका लागि प्रहरीलाई पत्र पठाए ।
उनी आफैं पत्र लिएर डिल्लीबजार कारागार पुगे । त्यसपछि प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार लगेको थियो । एकाएक विना कारण चौधरीलाई पक्राउ गरिएको भन्दै हल्लाखल्ला मच्चियो । सर्वोच्चले तत्काल दुईवटा पत्र निकाल्यो । सुरुमा विष्टले लेखेको पत्र अवैधानिक भएको जनायो । त्यसपछि चौधरीले हाल सजाय भुक्तान गर्न बाँकी नहरेको पत्र कारागारलाई पठायो । पाँच घन्टाको रस्साकस्सीपछि रेशम रिहा भए ।
डिल्लीबजार कारागारबाट रिहा भएपछि रेशम कुनै पनि सार्वजनिक कार्यक्रममा देखापरेका छैनन् । तर उनमा भने कुनै पनि समय आफू जेल पर्नसक्ने ठूलो भय रहेको उनी निकट नेताहरु बताउँछन् । सोही कारण अहिले उनी जनमत पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताइएको छ । सोमबार मात्र रेशमले यस कुराको पुष्टि गरेका छन् । उनले पार्टी एकताभन्दा पनि संगठन बनाउन जोड दिएका छन् । रेशमले सबै कुरा थाती राखेर आफ्नो संगठन निर्माणमा जुट्न आग्रह गरेका हुन्। आस्था मौसम जस्तै बदली नरहने बताउँदै उनले विचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै समाप्त हुने जिकिर गरेका छन् ।
जनमतसँग एकता हुन नसकिरहेको बेला उनले संगठन रहे मात्र राजनीतिक पदाधारी हुने र संगठनबिनाको राजनीति कल्पना पनि गर्न नसकिने उल्लेख गरेका छन् । ‘मौसम जस्तै बदलिरहँदैन आस्था विचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै समाप्त हुन्छ,’ रेशमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै कुरा थाती राखेर आफ्नो संगठन निर्माणमा जुटौँ। संगठन रहे तपाई रहने हो, राजनीतिक पदधारी हुने हो। संगठनबिनाको राजनीति कल्पना पनि नगरौँ।’ नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सिके राउत उपत्यका बाहिर भएकाले पार्टी एकता रोकिएको र आउनेवित्तिकै सुरु हुने अभिव्यक्ति सोमबार मात्रै सार्वजनिक गरेपछि रेशमले यस्तो स्टाटस लेखेका हुन् ।
प्रतिक्रिया