ऋचा घिमिरे अमेरिकास्थित ‘कोड मन्त्र’को ब्रान्ड एम्बासडर, अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्ने पहिलो नेपाली कलाकार


अभिनेत्री ऋचा घिमिरे अमेरिकामा स्थापित शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। यससँगै उनी अमेरिकामा कुनै कम्पनीको ब्रान्ड एम्बासडर बन्ने पहिलो नेपाली कलाकार बनेकी हुन्।

नेपालमा धेरै कलाकारहरूले विभिन्न ब्रान्डहरू प्रवर्द्धन गरिरहेका भए पनि, अमेरिकामा बसेर कुनै अन्तर्राष्ट्रिय कम्पनीसँग औपचारिक सम्झौता गर्ने पहिलो कलाकारको रुपमा ऋचाले नयाँ कीर्तिमान बनाएकी हुन्।

कोड मन्त्रले कृत्रिम बौद्धिकता (AI), कोडिङ, रोबोटिक्स, गणित, र मेशिन लर्निङ जस्ता विषयहरूमा अग्रमोर्चामा रहेर भविष्यको पुस्तालाई प्रविधिको दुनियाँमा सक्षम बनाउने लक्ष्य राखेको छ। कम्पनीको दीर्घकालीन दृष्टिकोण र ऋचाको सामाजिक तथा शैक्षिक योगदानप्रतिको प्रतिबद्धता मिल्दो भएकाले नै उनलाई ब्रान्ड एम्बासडरको रूपमा चयन गरिएको कम्पनीले जनाएको छ।

कोड मन्त्रका सीईओ भुवन रिजाल, सीटीओ सुजान रिजाल, र प्रोडक्ट सल्लाहकार सलोम भट्टले हालै आयोजित एक कार्यक्रममा ऋचालाई औपचारिक रूपमा अनुबन्ध गराएका थिए।

ऋचाले आफ्नो अनुभव साझा गर्दै भनिन्, “यो केवल एउटा ब्रान्ड साझेदारी होइन, हामी अब एक ग्लोबल भिलेजमा बाँचिरहेका छौं। यस प्रकारका सहकार्यहरूले विश्वभरिका कलाकारहरूका लागि नयाँ अवसरको ढोका खोल्नेछन्।”

केही समयअघि ऋचाले लामो अन्तरालपछि अभिनयमा फर्कँदै ‘तेल भिसा’ नामक चलचित्र निर्माण तथा अभिनय गरेकी थिइन्, जसले नेपाली प्रवास र आप्रवासन विषयलाई उठान गरेको थियो।