वर्षाले डाइभर्सन बगाएपछि १२ घन्टादेखि बीपी राजमार्ग अवरुद्ध, सरकार हेरेको हेर्यै


काठमाडौं – एक्कासि आएको वर्षापछिको बाढीले बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको डाइभर्सन बगाउँदा १२ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । बाढीले सोमबार राति डाइभर्सन बगाएको हो । तर मंगलबार बिहानसम्म पनि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भएको छैन ।

बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभेले जनाएको छ । बर्खा नलाग्दै यस्तो बेहाल भए पनि सरकार भने हेरेको हे¥यै भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रुपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।

सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएका थिए । मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो ।