गीताले स्वेच्छाले सांसद पद त्यागेपछि तनावमा सिके राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई अर्को तनाव आइलागेको छ । श्रीमतीसँगको सम्बन्ध, पार्टी नेता सुरेन्द्रनारायण यादवसँगको लफडा, नागरिक उन्मुक्ति पार्टीसँग एकता रोकिएको चर्चा चलिरहेका बेला पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले एकाएक पदबाट राजीनामा दिएपछि राउतलाई अर्को संकट आइलागेको छ ।


गीता जनमत पार्टीकी समानुपातिक सांसद हुन् । लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीरमर्का आफूले राम्ररी बुझेको, तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।
‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’


सभामुखलाई राजीनामा बुझाएर गुरुङको मोबाइल स्वीच्डअफ गरेर बसेकी छन् । जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए ।