काठमाडौं । जनताको करबाट पारिश्रमिक लिनु उचित नहुने भनी अचानक सांसदबाट राजीनामा दिएकी गीता गुरुङ बेलायतमा लुकिछिपी बस्दै आएको खुलेको छ । उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकमार्फत लुम्बिनी प्रदेश सभा सदस्य बनेकी थिइन् ।
सांसद गुरुङले बेलायतबाटै हस्तलिखित राजीनामा पत्र प्रदेश सभा कार्यालयमा मंगलबार इमेलमार्फत पठाएकी थिइन् । स्रोतका अनुसार उनी पछिल्लो समय बेलायतमा लुकिछिपी बस्दै आएकी छन् । सांसद पदको दुरुपयोग गर्दै बेलायत पुगेकी उनी उतै लुकेकी हुन्। उनले आफूनिकट व्यक्तिहरुलाई आफूले जनमत पार्टीलाई लाखौं रकम तिरेर समानुपातिक सिट खरिद गरेको बताउने गरेकी छन्।
‘समानुपातिक सांसद बन्न लाखौं पैसा जनमत पार्टीलाई बुझाएकी थिएँ। नेपाल बसेर के गर्नु ? त्यत्रो पैसा कसरी तिर्नु ?’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । गुरुङले सभामुखसमक्ष बुझाएको राजीनामा पत्रमा आफूले पदमा बसेर पनि जनताका लागि काम गर्न नसकेको र जनताकै करबाट पारिश्रमिक लिइरहन उपयुक्त नरहेको उल्लेख गरेकी छन्।
‘देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला, तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ । म मेरो पदमा रहिरहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन।
तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु,’ उनले लेखेकी छन् । गीताले एकाएक सांसद पदबाट राजीनामा दिएपछि जनमत पार्टी उनीसँग आक्रोशित भएको बुझिएको छ । जनमतका पदाधिकारीहरू गीतालाई सांसद बनाउनु ठूलो भूल भएको बताउन थालेका छन् ।
प्रतिक्रिया