काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिेको छ । करिब २० लाख रुपैयाँमा जडित प्लान्टले दैनिक पाँच हजार लिटर पानी प्रशोधन गर्नेछ । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुने महानगरले जनाएको छ ।
वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन्, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।
३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन् ।’ विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ ।
यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइनेछ । प्लाजामा दैनिक करिब नौ हजार लिटर पानीको प्रयोग हुने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया