प्रधानमन्त्री ओलीले बालुवाटारमा कलाकारलाई हँसाएको हँसायै बनाए


काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मंगलबार बालुवाटारमा दर्जनौं कलाकारलाई बोलाएर सिनेमा, संगीत, खेलकुद र राजनीतिबारे प्रवचन दिएका छन् ।

काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष कार्यक्रममा ओलीले फिल्मसिटी बनाउन दोलखाको खरिढुंगा र गोरखाको पालुङटार उपयुक्त हुने बताए । उनले पालुङटारमा सिने सिटी निर्माण गर्ने प्रस्ताव अघि सारेका छन्। नेपालको सिनेमा उद्योगको विकासका लागि प्राकृतिक सुन्दरताले भरिपूर्ण पालुङटार उपयुक्त गन्तव्य हुने उनले बताए।

पालुङटारको भौगोलिक र प्राकृतिक विशेषताको प्रशंसा गर्दै मर्स्याङ्दी नदी, हिमशृंखलाहरू र रमणीय दृश्यहरूले सिनेमा छायांकनका लागि आदर्श वातावरण प्रदान गर्ने उल्लेख गर्दै भने, ‘त्यहाँ एउटा सानो हाम फाल्ने पुल बनाऊँ। हिरोइन रिसाएर कुद्दै गएर मर्स्याङ्दीमा हाम फाल्छिन्। बहादुर हिरो उडेर गएर जम्प गर्दा पनि त्यहाँ खतरा हुँदैन। त्यसकारण बहुत खतरनाक ठाउँमा उसले हाम फाल्छ र हिरोइनलाई बचाउँछ। पालुङटारमा सिने सिटी बनायौँ भने माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश हिमालदेखि लाङटाङसम्मका हिमशृंखलाहरू पृष्ठभूमिमा देखिन्छन्। मर्स्याङ्दी नदीमा हिरो–हिरोइनको दृश्य खिच्दा दर्शक दंग पर्छन् ।’ प्रधानमन्त्रीले यसो भन्दा उपस्थित कलाकार ताली पिट्दै हाँसेका थिए ।

ओलीले पालुङटार नजिकैको बन्दिपुर, डुम्रे, भानुभक्त र लेखनाथको जन्मस्थल तथा फेवाताल, बेगनास ताल, सराङकोट र पञ्चासेजस्ता पर्यटकीय गन्तव्यहरूको उपयोगले सिनेमा उद्योगलाई अन्तरराष्ट्रिय स्तरमा पुर्‍याउन सकिने पनि बताए। ‘यी ठाउँमा गीत, दृश्य र कथावस्तुले सिनेमालाई जीवन्त बनाउँछ। विश्वभरका फिल्ममेकरहरू नेपाल आउनेछन्,’ उनले थपे।

प्रधानमन्त्रीले नेपालमा रेल नयाँ कुरा नभएको भन्दै जनकपुरमा सञ्चालित रेल सेवाको उदाहरण दिए। उनले जनकपुरमा सञ्चालित रेल सेवाप्रति गर्व व्यक्त गर्दै गीत–संगीतमा विदेशी दृश्यको सट्टा स्वदेशी सम्पदालाई स्थान दिन आग्रह गरे। ‘तपाईंहरूले गीत बनाउनुहुन्छ, दार्जिलिङको रेल किन ? जनकपुरमा रेल कुदिराख्या छ त ! आफूले गरेको काम किन नदेख्ने ?” उनले प्रश्न गरे। ओलीले यसो भन्दा कलाकारहरु गलल हाँसेका थिए ।


प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने बताएका छन् । कुनै पनि काम थालेपछि जसरी पनि सफल हुने उनको भनाइ छ । ओलीले धुर्मुस सुन्तलीलाई आफूले ‘यो काम नगर’ भनेको सम्झाएको पनि सम्झिए । ‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दा भन्दै गरे । नगर भन्दा भन्दै गरे धुर्मुस सुन्तलीले बहुत दुःख पाए, माया लाग्छ,’ ओलीले भने, ‘अब क्रिकेट मैदान पनि बन्छ, उनीहरुको दुःख कस्ट पनि हट्छ । मैले त दुःख पाइन्छ नगर, नगर्नु भनेकै हो । तर, ठूलै काम आँटे । थालेपछि सफल हुन्छ ।’