काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा सत्तारुढ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएकोमा कटाक्ष गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलमा मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले युवा नेताप्रति कटाक्ष गरेका हुन् ।
‘मेरो पार्टीभन्दा पर नेपाली कांग्रेसतिर गएँ म । यहाँ दुईजना सशक्त नेता हुनुहुन्छ । उहाँहरूलाई नीति तथा कायर्उक्रममा कहीँ पनि देखिनँ । किन आउनुभएन ?’ शाहीले भने, ‘हुन सक्छ उहाँहरूलाई यो नीति तथा कार्यक्रम नखाऊँ भने दिनभरिको सिकार खाउँ भने कान्छाबाउको अनुहार भनेजस्तो भएको छ । विरोध गरौँ आफ्नै पार्टी सरकारमा छ, नगरौँ आफ्नै पार्टी सरकारमा छ ।’
सकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा उपत्यका बाहिर थिए । महामन्त्री थापा हाल विदेश भ्रमणमा छन् भने शर्मा सगरमाथाको बेस क्याम्पसम्म आरोहण गर्ने उद्देश्यले हाल सोलुखुम्बुमा छन् । थापा र शर्माले नीति तथा कार्यक्रममा भाग नलिएको भनेर राप्रपा सांसद शाहीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रतिक्रिया