बालेनलाई कार्यपालिका बैठकभन्दा राजुनाथ पाण्डेको चिन्ता धेरै


काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन यतिबेला कार्यपालिका बैठक नराखेका कारण विवादमा छन् । उपप्रमुख सुनिता डंगोलसहित सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले बालेनलाई कार्यपालिका बैठक राख्न दबाब दिइरहेका छन् । तर बालेन पाँच महिनादेखि कार्यपालिका बैठक राख्न मानिरहेका छैनन् । बरु यसबीचमा बालेनले विभिन्न देश र स्वदेशमै पनि विभिन्न जिल्लाको भ्रमण गरेर समय कटाएका छन् ।


पछिल्लोपटक उनी कास्कीमा करिब एक साता बिताएर काठमाडौं फर्केका थिए । आफ्नो जन्मदिन मनाउन उनी परिवारसहितै पोखरा पुगेका थिए । पोखराबाट फर्केपछि उनी कार्यालय गए पनि कसैसँग भेटेका छैनन् । बालेनले अन्तिम घडीमा जापान यात्रा रद्द गरेका छन् । सहरी विकास योजनासम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार नै त्यता प्रस्थान गर्नुपर्ने उनले अन्तिम समयमा कार्यक्रम स्थगित गरेका हुन् ।


वैदेशिक भ्रमणमा जाँदा कार्यवाहक दिनुपर्ने भएपछि उनले भ्रमण रद्द गरेको बताइन्छ । महानगरमा अहिले नगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई हटाउनुपर्ने आवाज उठिरहेको छ । आफ्नो अनुपस्थितिमा कार्यपालिका बैठक बसेर पाण्डेलाई निकाल्ने डरले बालेनले भ्रमण कार्यक्रम नै स्थगित गरेको कर्मचारीहरूको दाबी छ । राजुनाथलाई कारबाही गर्नुपर्ला भन्ने डरले बालेनले कार्यपालिका बैठक टार्दै आएका थिए ।


नगर प्रहरी प्रमुख एसएसपी पाण्डे कामु हुन् । कामुको अवधि ६ महिनाको हुने भए पनि उनी बालेन आएदेखि सोही जिम्मेवारीमा छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक्ने प्रयास गरेको भन्दै उनलाई कारबाहीको मागसहित कर्मचारीले ज्ञापनपत्रसमेत बुझाएका थिए । कार्यपालिका बैठकमा पाण्डेलाई हटाउने एजेन्डा आउने डर बालेनमा देखिएको छ ।