काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीको लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले एकाएक पदबाट राजीनामा दिएको मंगलबार सञ्चारमाध्यममा छायो । एकपछि उनको बारेमा अनेक ढंगले समाचार आए । दुई महिनाअघि बेलायत गएकी गुरुङले उतैबाट राजीनामा पत्र पठाएको उल्लेख थियो । तर लुम्बिनी प्रदेश सभालाई गुरुङले दिएको राजीनामाबारे केही जानकारी नै छैन ।
लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरले मिडियामा मात्रै समाचार आएको, तर आफूकहाँ नआइपुगेको बताउँछन् । जनमत पार्टीले अहिलेसम्म कुनै सूचना जारी नगरेको उनको भनाइ छ । ‘सम्बन्धित माननीयले सभामुखसमक्ष आएर राजीनामापत्र दिनुपर्यो । कि त उहाँआबद्ध दलले उहाँलाई कारबाही गरेको संसदीय दलको आधिकारिक लेटरप्याडमा हाम्रो दलमा छैन्न भनेर आधिकारिक रूपमा सूचना दर्ता गर्नुपर्यो । विनासूचना प्रदेश सभा बैठकमा लगातार १० पटक उपस्थित नभएमा हटाउने प्रावधान छ, तर अहिले यी तीनवटै प्रावधान यहाँ लागू भएको अवस्था छैन । पछिल्लोपटक उहाँले बिदा लिनुभएको हो । बिदा लिएर उहाँ कहाँ जानुभएको छ भन्ने जानकारी छैन,’ सभामुख घर्तीमगरले भने ।
रुङका श्रीमान् कैलाश गुरुङ सभामुख घर्तीमगरलाई राजीनामापत्र बुझाउन हिँडेको भनिए पनि बुधबार बिहानसम्म संसद् सचिवालयमा त्यससम्बन्धी जानकारी छैन । जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सांसद गुरुङ लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र राजीनामापत्र पनि नआएको बताए । सञ्चारमाध्यममा राजीनामाबारे देखेको भन्दै उनले पार्टीलाई कुनै जानकारी नगराएको बताए ।
सभामुखलाई सम्बोधन गरिएको चर्चामा आएको सांसद गुरुङको राजीनामापत्रमा जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त नठानेको उल्लेख छ । राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने आफ्नो मान्यता रहेको जनाइएको छ । गुरुङ सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक कोटामा प्रदेश सभामा निर्वाचित भएकी थिइन् । लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले पनि समाचारमा राजीनामा आएको कुरा आए पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए । गीताका श्रीमान् कैलाश भने केही साताअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए । त्यसैले अहिले गुरुङको राजीनामा पत्र अरु कसैले नै लेखेर पठाएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया