काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सैद्धान्तिक र प्राथमिकीकरणका विषयमा मंगलबारबाट छलफल सुरु भएको छ । छर छलफलको दोस्रो दिन नै प्रतिनिधिसभामा कांग्रेस सांसद अर्जुननरसिंह केसीले बजेट पुस्तिका च्यात्ने चेतावनी दिएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उनले बालाजु–रानीपौवा–त्रिशूली सडक स्तरोन्नत्तिका लागि यसपटक पनि बजेट विनियोजन नभएको बजेट च्यात्ने चेतावनी दिएका हुन्। २०७१ मा ठेक्का सम्झौता भएको सडक अहिलेसम्म पनि स्तरोन्नत्ति नभएको र पछिल्लो दुई आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन नभएको भन्दै केसीले आक्रोश व्यक्त गरे ।
‘मर्मत सम्भारको नाममा पुरानो बाटो सबै क्षतिग्रस्त गराइएको छ। बाटो असरल्ल छ,’ उनले भने, ‘मेरो मर्यादा र संस्कारले दिँदैन। तर यसपटक पनि त्यो बाटोलाई बजेट परेन मैले बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्नुको विकल्प छैन।’ आफू गठबन्धन सरकारमै सामेल भए पनि आफ्नो पहिलो प्राथमिकता जिल्लाका जनता भएको भन्दै उनले अर्थमन्त्री विष्णु पौडेलसँग त्यसका लागि विशेष आग्रह गरे। विपक्षी दलका सांसदहरूले विनियोजन विधेयकका सैद्धान्तिक र प्राथमिकीकरण कर्मकाण्डी भएको भन्दै आलोचना गरेका छन् ।
प्रतिक्रिया