काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यस पटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने निर्णय गरेका छन्।
फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले यो कदमलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने होइन, बरु व्यक्तिगत र पेशागत विकासतर्फ अघि बढ्ने प्रयासको रूपमा व्याख्या गरेका छन्। उनले लेखेका छन्, ‘यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यको यात्रातर्फको एक पाइलो हो।’
क्यानप्रति आभार प्रकट गर्दै सन्दीपले क्यानले आफ्नो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेका छन्। उनले लेखेका छन्, ‘मैले प्राप्त गरेको अनुभव र योगदानका माध्यमबाट अझ धेरै सिक्ने र दिने अवसर अझै बाँकी छ।’
सन्दीपले जीवनलाई निरन्तर बदलिंदो यात्राको रूपमा चित्रण गर्दै आफू क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा अघि बढ्न उत्साहित रहेको बताएका छन्। राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने समेत स्पष्ट पारेका छन्।
उनले भनेका छन्, ‘कहिलेकाहीं अलग निर्णयहरू अलगिन होइन, अझ बलियो भएर अगाडि बढ्नका लागि लिइन्छन्। मेरो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको छ।’
अन्त्यमा सन्दीपले आफ्ना समर्थक र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, ‘तपाईंहरूको विश्वास र समर्थनले मलाई निरन्तर प्रेरणा दिइरहेको छ। यो यात्रा अझै समाप्त भएको छैन।’
गौरतलब छ, सन्दीप लामिछाने यसअघि क्यानको केन्द्रीय सम्झौताअन्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश थिए।
प्रतिक्रिया