फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले हंगामा मच्चाइरहेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकहरु यो फिल्मलाई प्रतिक्षा गरेर बसिरहेका छन् ।
फिल्मको ट्रेलरले हाइप बनाएसँगै यसको विदेश अधिकार पनि धमाधम विक्री हुन थालेको छ ।
नेपाली फिल्मका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यो फिल्मको रिलिज अधिकार विक्री भएको छ ।
यो फिल्मको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । फिल्मलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन ।
बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्–‘महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा खुबै छ । यसैले, दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो फिल्मको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं । आशा छ, फिल्मले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’ वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन् ।
वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा फिल्म रिलिज हुने बताइन् । नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा यो फिल्म तयार भएको हो । फिल्मको डिमाण्ड अन्य देशबाट पनि आइरहेको र चाडै नै विक्री गर्ने तयारी भइरहेको उनको भनाई छ ।
प्रतिक्रिया