‘महाभोज’को ‘सत्य कहिल्यै लुक्दैन’ प्रकरण के हो ?



फिल्म ‘महाभोज’ जेठको १५ गतेबाट रिलिजमा आउँदैछ । फिल्मले सहकारीको कथालाई उठान गरेको छ ।

तर, मंगलबार फिल्मका निर्देशक र कलाकारहरुले ‘सत्य कहिल्यै लुक्दैन’ भन्दै सामाजिक संजालमा पोष्ट गरेपछि खुबै चर्चा भयो । सबैजसो कलाकारहरुले एकसाथ किन यो पोष्ट गरे होलान् भन्ने चासो पनि भयो ।

फिल्मका निर्देशक दिनेश राउत, नायकहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, नायिकाहरु अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङले एकै समयमा यो वाक्यांश पोष्ट गरेपछि सामाजिक संजालमा विभिन्न खालका अड्कलबाजीहरु सुरु भयो ।

फिल्म ‘महाभोज’ सहकारणी प्रकरणको कथामा तयार भएको छ । फिल्मको टिमले नै ‘सत्य कहिले लुक्दैन’ भन्दै पोष्ट गरेपछि सहकारी प्रकरणलाई नै लिएर उनीहरुले लेखेको अर्थ धेरै लगाए ।

धेरैले यसलाई फिल्मको प्रचारको शैलीको रुपमा पनि वुझेका छन् । अब, भोलि रिलिजमा आउन लागेको फिल्मको ट्रेलरले यो बिषयलाई उठान गर्छ या गर्दैन हेर्न बाँकी छ ।

फिल्मले पर्दा पछाडि दबाइएको बिषयलाई उठान गर्ने अपेक्षा गर्न सकिन्छ । कलाकारहरुको एउटै स्वरले पनि यही कुरा भन्न खोजेको देखिन्छ ।

दिनेश राउतको निर्देशन, विकास सुवेदीको लेखन रहेको यो फिल्ममा आर्यन सिग्देल पनि मुख्य भूमिकामा छन् । हिमाल कडरिया यो फिल्मका निर्माता हुन् ।