प्रधानमन्त्री ओली र कोरिया रेलरोड प्रमुखबीच भेट, नेपालमा रेल निर्माणमा सहकार्य


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कोरिया रेलरोड कर्पोरेशन (KORAIL) का प्रमुख हान मुन हीबीच आज महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। सिंहदरबारमा भएको भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको पनि उपस्थिति रहेको थियो।

छलफलका क्रममा कोरियन प्रतिनिधिमण्डलले नेपालमा रेल्वे पूर्वाधार निर्माणका लागि सहकार्य गर्ने गहिरो इच्छा व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरिया रेलरोड कर्पोरेशन विश्वभर रेल सेवा विस्तार तथा प्रविधि स्थानान्तरणमा सक्रिय रहँदै आएको कम्पनी हो।

नेपाल सरकारले पछिल्लो समय रेल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको सन्दर्भमा कोरियन पक्षको चासोले दुबै देशबीचको सम्बन्धमा नयाँ सम्भावना थपिएको बताइएको छ। भेटवार्तामा दुवै पक्षबीच सम्भावित प्राविधिक सहयोग, लगानी र दीर्घकालीन साझेदारीबारे प्रारम्भिक छलफल भएको जनाइएको छ।