काठमाडौं । पछिल्ला तीन दिनमा काठमाडौं उपत्यकामा आगलागीका ठूला घटना भएका छन् । मंगलबार राति ललितपुरको हरिसिद्धिमा फर्निचर उद्योगमा भीषण आगलागी हुँदा करोडौं मूल्यबराबरको धनमालको क्षति भएको छ । तत्काल ललितपुरमा रहेका वारुणयन्त्र बोलाएर आगो निभाइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाइ छ । बुधबार बिहान काठमाडौंको मखनमा ग्यास लिक भएर भीषण आगलागी हुँदा एकजनाको ज्यान नै गयो ।
बुधबार बिहान करिब ६ः५० तिर स्थानीय दयाराम श्रेष्ठको कच्ची घरबाट आगो सल्किएको थियो। आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठसहितका दुई घरमा क्षति भएको थियो। आगोले जलेका तीनवटै घर भाडामा दिएर घरधनी अन्यत्र बस्दै आएका थिए। आगो सल्किएपछि घरमा भएका एक महिला, एक पुरुष र एक बच्चाको उद्धार गरिएको थियो। यद्यपि, घरमा को(को बस्थे भन्ने जानकारी घरधनीलाई नहुँदा एक ज्येष्ठ नागरिकको उद्धार नहुँदा मृत्यु भएको छ।
आगो नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौं र ललितपुरका दमकल, अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहित सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरेका थिए। आगलागी नियन्त्रणमा बारुण यन्त्र ढिला पुगेको स्थानीयको दुस्खेसो छ।
बिहीबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गगल चोकस्थित कपडा पसल र कम्प्लेक्समा आगलागी भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । आगलागी नियन्त्रणका लागि पाँचवटा दमकल प्रयोग गरिएको थियो।
प्रतिक्रिया