एमालेको युवा संघमा महाधिवेशनको सरगर्मी, अध्यक्षमा सुमन पुरीको पल्लाभारी


काठमाडौं । एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । आगामी ९–११ जेठमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न हुने महाधिवेशनका लागि ‘ज्ञान, सिप र सोचः युवा परिवर्तनको स्रोत’ भन्ने मूल नारासहित संघ महाधिवेशनको तयारीमा जुटेको हो । महाधिवेशनमा पालिका, जिल्ला, प्रदेश, सम्पर्क समन्वय कमिटी, अन्तर जिल्ला, विभिन्न विभागहरू र मनोनीतसहित करिब १८ सय प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गर्दैछन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नौ पदाधिकारीसहित १५१ केन्द्रीय कमिटीको चयन गर्नेछ । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलालाई सुनिश्चित गर्नेगरी विधानमा व्यवस्था छ । एकैचोटि पदाधिकारी संख्यामा भारी कटौती भएपछि मौजुदा १७ सदस्यीय पदाधिकारी नौजनामा झर्ने भएपछि विशेषतः अध्यक्ष, उपाध्यक्ष र महासचिव पदमा हालकै पदाधिकारीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अहिलेका अध्यक्ष क्षितिज थेवेले अध्यक्ष नदोहोरिने घोषणा गरेपछि तीन उपाध्यक्ष र महासचिव महाधिवेशनबाट अध्यक्षको नेतृत्व लिन अग्रसर भएका छन् । हालका उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी र प्रकाश गौतम तथा महासचिव सुमन पुरीले आकांक्षासहित अध्यक्षका लागि दौडधुप सुरु गरेका छन् । चुनावी प्रतिस्पर्धा क्षीण देखिएकाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल, उपमहासचिव तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल तथा पूर्व अध्यक्षहरू महेश बस्नेत र अहिलेका इन्चार्जसमेत रहेका राजीव पहारीको विश्वास जसले बढी जित्न सक्यो उही नै अध्यक्ष बन्ने सम्भावना रहेको एक पदाधिकारीले बताए ।

नेताहरूका अनुसार पुरीको पल्लाभारी देखिएको छ । त्यसो त केसी र गुरुङ पनि सम्भावना बोकेका युवा नेता हुन् ।महासचिवमा भने सचिव तथा पूर्वप्रवक्ता निरोज पौडेल, पर्वत भण्डारी, विनय शाह र महेश चौलागाईंले आकांक्षा देखाएका छन् । अध्यक्षकै दौडमा रहेकाहरूमध्येबाट पनि उपाध्यक्ष र महासचिव बनाएर महासचिवका आकांक्षीलाई उपमहासचिवमा व्यवस्थापन गर्ने सम्भावना रहेको पनि स्रोतले बताएको छ ।