पूर्व सञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। दुरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको सो प्रणालीमा तीन अर्ब २१ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी छ। बस्नेत सञ्चारमन्त्री भएको अवस्थामा खरिदको काम भएको हो।

बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित कांग्रेस सांसद हुन्। आयोगले प्राधिकरणका पूर्वअध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्वसचिव धनराज ज्ञवाली, प्राधिकरणका पूर्वसदस्य टीका उप्रेतीसहित प्राधिकरणका कर्मचारी र आपूर्तिकर्ता कम्पनीलाई प्रतिवादी बनाएको छ।

अख्तियारले टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बास्कोटासँग पनि बयान लिएको थियो । तर पूर्वमन्त्री बस्नेतलाई मात्र मुख्य आरोपी करार गरी मुद्दा दर्ता गरेको हो ।