काठमाडौं । रास्वपा सांसद सोबिता गौतमले कीर्ते जाहेरवाला खडा गरी सभापति रवि लामिछानेविरूद्ध अभियोग लगाउनु गम्भीर राजनीतिक प्रतिशोध भएको टिप्पणी गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले जाहेरीकर्ता बनाइएकाहरुले अहिले सार्वजनिक रुपमा ‘मैले रवि लामिछानेविरुद्ध कुनै पनि किटानी जाहेरी दिएको थिइनँ, मलाई थाहै नदिई अभियोगपत्रमा मेरो नाम लेखियो’ भनिरहेको भन्दै यसबाट राज्यले किर्ते जाहेरीको निर्माण गरी एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको पुष्टि हुँदै गएको उल्लेख गरिन् ।
राज्यले सत्ता र शक्तिको दुरुपयोग गरेर पक्राउ पुर्जीविना गरिएको पक्राउ, पूर्वाग्रहपूर्ण अनुसन्धान र बिना किटानी जाहेरी, नाम लेखेर अभियुक्त बनाउने कार्य मानव अधिकारसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको उनको भनाइ थियो । गौतमले प्रतिशोधको व्यवहार सच्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
‘संसदीय छानबिन समितिको प्रतिवेदनले स्पष्ट रूपमा लामिछाने कुनै पनि सहकारी संस्थाको सञ्चालक र सदस्य होइन र सहकारीको अपचलनमा उहाको संलग्नता छैन भन्ने कुरा निस्कर्षमा लेखिएता पनि, फौजदारी कसुरअन्तर्गत अभियोजन दायर भयो । शक्तिको दुरुपयोग आफैँमा संविधानविपरीतको कार्य हो, र जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ, त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो । पक्राउ पुर्जीविना गरिएको पक्राउ, पूर्वाग्रहपूर्ण अनुसन्धान, र बिना किटानी जाहेरी, नाम लेखेर अभियुक्त बनाउने कार्य—यी सबै मानव अधिकारसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन हुन्,’ उनले भनिन् ।
प्रतिक्रिया