काठमाडौं । कांग्रेस, एमाले, रास्वपा र राप्रपाका गरी चार सांसदको पद निलम्बनमा परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा तीन अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कांग्रेस सांसद मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता गर्नासाथ बिहीबारबाटै बस्नेत निलम्बनमा परेका छन् । निलम्बनमा पर्ने उनी चौथा सांसद हुन् । भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानुनी ब्यवस्था छ । बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । बस्नेत कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् ।
जीबी राईका सूर्यदर्शन, स्वर्णलक्ष्मी, सुप्रिमलगायतका सहकारीको रकमश गोर्खा मिडियामा लगेर घोटाला गरेकोमा रास्वपा सभापति रवि लामिछानेबिरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा छन् । उच्च अदालत बुटवलको आदेशले उनी थुनामै छन् । रवि चितवन २ बाट निर्वाचित सांसद हुन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा एमालेका सांसद टोपबहादुर रायमाझी पनि थुनामै छन् । उनी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । उनको सांसद पनि निलम्बनमा परेको छ ।
छिपछिपे उपभोक्ता सहकारीको १६ करोड ६९ लाख अपचलन आरोपमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध गएको वैशाखमा पक्राउ पूर्जी जारी भएको थियो । फरार उनी संसदमा कहिल्यै उपस्थित भएकी छैनन् । पक्राउ पूर्जी जारी भए पनि उनी निलम्बनमा परेकी छैनन् । उनी समानुपातिक सांसद हुन् ।
मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङविरुद्ध भ्रष्टाचार ठहर भए पनि सर्वोच्च अदालतले निलम्बन फुकुवा गरिदिएको थियो । कांग्रेस सांसद माया राई स्वर्णलक्ष्मी सहकारी हिनामिना प्रकरणमा पक्राउ परे पनि जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटीमा छाडिदिएको छ । कांग्रेसबाट समानुपातिक सांसद राईको पद निलम्बनमा भने परेको थिएन ।
यस्तै, एमालेका सांसद लक्ष्मी महतो सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा पक्राउ पुर्जी जारी भएर फरार भए पनि उनको पनि सांसद पद निलम्बनमा परेको थिएन । अदालतले उनलाई कसुरदार ठहर नगरी सफाइ दिएको छ । उनी अहिले संसदमा उपस्थित हुने गरेका छन् ।
टेरामक्स खरिद घोटालामा बस्नेतसहित १६ जनाका अख्तियार बिरुद्ध दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया