काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाली नोटमा कांग्रेस र एमालेको चुनाव चिन्ह राख्न भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले दलीय भागवण्डाको आधारमा गभर्नर नियुक्त गर्न लागेर सरकारले लज्जास्पद चरित्र देखाएको टिप्पणी गर्दै राष्ट्र बैंक ऐनको उपेक्षा गरेर गभर्नर नियुक्ति गरिए अलिअलि बचेखुचेको गरिमा पनि ध्वस्त हुने चेतावनी दिए ।
सरकारले विश्व पौडेललाई गभर्नर बनाउन लागेको चर्चा चलेपछि सांसद ढकालले ‘लाज पनि लजाइसकेको’ प्रतिक्रिया दिएका हुन् । ‘अहिले सुनिरहेको छु, हाकाहाकी चुनाव लड्या मान्छेलाई, त्यो पनि मैसँग हो है, तेस्रो भाको हो फेरि, त्यस्तो मान्छेलाई गभर्नर भनेर अगाडि सार्या छ’, उनले भने, ‘म राष्ट्र बैंक ऐन २०५८ को दफा २१ सम्झाउन चाहन्छु, उहाँ राजनीतिक दलको कार्यकर्ता नै हो ।’
गभर्नर सिफारिस समितिमा रहेको मान्छे आफै गभर्नर बन्न कस्सिनु नैतिक चरित्रको निकृष्ट उदाहरण भएको ढकालले आरोप लगाए । उनले अघि भने, ‘ऐनमै नैतिक चरित्रको कुरा पनि छ, यो पो छ त झन् रोचक त ! आफै सिफारिस समितिमा बस्ने, अनि मान्छे भेटाइएन भनेर आफै कस्सिने । यो भन्दा रोचक अरु के होला ?’ गभर्नरका लागि हानथाप गरिरहेका कांग्रेस र एमालेलाई दुर्इवटा गभर्नर बनाउन र नोटमा आआफ्नो पार्टीको चुनाव चिन्ह राख्न ढकालले कटाक्ष गरेका छन् । सांसद ढकालले पौडेलसँग राष्ट्र बैंक चलाउन सक्ने अनुभव नभएको पनि दाबी गरे ।
प्रतिक्रिया