फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रिमियर काठमाडौंमा गरिएको छ । काठमाडौंको सिभिल मलमा आयोजना गरिएको प्रिमियरमा फिल्मीकर्मी, केही पत्रकार र १८० जना दर्शक उपस्थित थिए ।
फिल्मका निर्देशक दीपेन्द्र के खनालले प्रिमियरमा दर्शकलाई बोलाएको र उनीहरुकै प्रतिक्रिया सत्य हुने बताए ।
कार्यक्रममा पुगेका केही पत्रकारहरुलाई भने रोकिएको थियो । उनीहरुलाई हल छिर्ने मुख्य गेटबाट नै रोकिएको थियो ।
पत्रकारहरुलाई रोकेर दर्शकलाई प्रिमियरमा प्रवेश गराइएको यो पहिलो पटक हो । फिल्म हेरेर फर्किएका अधिकांशले फिल्मको विषयमा सकारात्मक प्रतिक्रिया दिए ।
यो फिल्मले घरभेटी र डेरावालाको मात्र कथा नभएर आम नागरिकको कथा भनेको उनीहरुको प्रतिक्रिया थियो ।
फिल्म हेर्न पुगेका फिल्मीकर्मीहरुले पनि यो फिल्मको तारिफ गरे । अधिकांशले परिवारको महत्व यो फिल्मले वुझाउने प्रतिक्रिया दिएका थिए । नायिका मनिषा कोइराला, कलाकार हरिवंश आचार्य, नायिका स्वस्तिमा खड्का, गायिका अञ्जु पन्त लगायत फिल्म हेर्न पुगेका थिए ।
आम दर्शकले समेत फिल्मको उत्कृष्ट प्रतिक्रिया दिएपछि यसको टिम उत्साहित छ । फिल्मका निर्देशक दीपेन्द्र के खनालले प्रिमियरमा नयाँ सुरुवात गरेको भन्दै वास्तविक रिभ्यू आओस् भनेर दर्शकलाई नै फिल्म देखाएको प्रतिक्रिया दिए ।
फिल्मका मुख्य कलाकारहरु नायक आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, नायिका केकी अधिकारी, श्रृजना नापित प्रिमियरमा उपस्थित थिए । यस्तै, फिल्मका निर्माता तथा निर्देशक पनि प्रिमियरमा पुगेका थिए ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्ममा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी छ । वुद्दिसागरले यो फिल्मको कथा लेखेका हुन् ।
प्रतिक्रिया