प्रदीपको २५ करोडको ‘ऐरी’को छायांकन सुरु



नायक प्रदीप खड्काले फिल्म ‘ऐरी’को छायांकन सुरु गरिएको छ । जीवन थापाको निर्देशनमा तयार हुन लागेको फिल्मको छायांकन बाग्लुङको ढोरपाटन उपत्यकाबाट छायांकन सुरु गरिएको हो ।

फिल्मको पहिलो सेड्यूलको छायांकन ढोरपाटनमा ४५ दिनसम्म हुने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मको छायांकन सेटमा नायक प्रदीप खड्का र नायिका चुमले काम सुरु गरेका छन् ।

२० दिनपछि फिल्मको छायांकन सेटमा भुटानी कलाकार सांगे सेल्ट्रिम जोडिनेछन् । नायक धिरज मगर पनि केही दिनपछि फिल्मको छायांकन सेटमा जोडिने निर्माणपक्षले बताएको छ ।

यो फिल्मको छायांकन काठमाडौं र भारतमा पनि गरिनेछ । ढोरपाटन शिकार आरक्ष क्षेत्रको जंगलमा सेट लगाएर यो फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मले हिमाली परिवेशलाई देखाउनेछ । फिल्ममा प्रदीप र बाघबिचको दृश्य समेत खिचिने अपेक्षा गरिएको छ ।

फिल्मको छायांकन ३ महिनासम्म चल्नेछ भने भीएफएक्सका लागि आधा बर्ष बढी समय लाग्नेछ । निर्देशक जीवन थापाको कम्पनी मल्टिमेटले भारतका विभिन्न वितरकहरुसँग मिलेर यो फिल्म बनाउन लागेको हो । फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गरिने निर्माणपक्षले बताएको छ ।

नेपाली फिल्मको इतिहासमै सर्वाधिक महंगो र ठूलो क्यानभासमा खिचिन लागेको फिल्मको रुपमा यसलाई हेरिएको छ ।