हिमाल जोगाउन सगरमाथा संवादको आयोजना गरेका हौं: प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।

सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट पारे ।

‘आशा गछौँ, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,’ ओलीले भने, ‘हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।’
संगरमाथा संवाद होटल सोल्टीमा आयोजना भइरहेको छ । संवादमा स्वदेश र विदेशका गरी तीन सय ५० जना प्रतिनिधि सहभागी छन् । परराष्ट्र मन्त्रालयले सगरमाथा संवाद आयोजना गरेको हो । प्रतिनिधिहरूलाई परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।