रवीन्द्र मिश्रलाई लगियो सर्वोच्च, आज छुट्लान् त ?


काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतमा पेस गरिएको छ । शुक्रबार बिहान अदालतमा लगेपछि उनलाई छुटाउन दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि सुनुवाइ गर्दैछ। बिहीबार न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ तोकिएको छ।

मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले रिट दिएकी थिइन्। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नुको कारण देखाउन र उनलाई अदालतमै हाजीर गराउन आदेश जारी गरेको थियो ।

चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४७ दिनदेखि प्रहरी हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनीमाथि अनुसन्धान र बयान लिने काम सकिए पनि उनलाई छाडिएको छैन ।

ुनवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए। तीनकुने प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको मृत्यु भएको थियो । निजी घर, सरकारी गाडी, पार्टी कार्यालय र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो। मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवलशम्शेर राणा भने उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका थिए। तर मिश्रमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। राप्रपाका नेताहरुले मिश्रलाई न्याय दिने भन्दै आज छुट्ने अपेक्षा गरेका छन् ।