गभर्नर बन्ने चर्चामा रहेका पौडेलविरुद्धको रिट सर्वोच्चले गरिदियो दरपिठ


काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको चर्चामा रहेको डा.विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतले दरपिठ गरेको छ । पौडेललाई ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट पेस गरेका थिए । सर्वोच्च प्रशासनले शुक्रबार रिट दरपिठ गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए ।

उनका अनुसार सो रिटमा पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताका लागि पेस गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएकोलगायतका कारणले रिट दरपिठ भएको हो । आफ्नो नाम गभर्नरमा चर्चामा आएपछि पौडेलले गभर्नर सिफारिस समितिको सदस्य पदबाट राजीनामा दिएका थिए ।

सरकारले पौडेलको राजीनामा स्वीकृति गरी सिफारिस समिति पुनर्गठन गरेको छ । समितिको संयोजकमा अर्थमन्त्री विष्णु पौडेल, सदस्यमा महाप्रसाद अधिकारी र डा.पोषराज पाण्डे सदस्य छन् । एक दुई दिनभित्रै समितिको बैठक बसेर गभर्नरको नाम सिफारिस गरिने बुझिएको छ ।