बैंकक उड्दा प्रचण्डलाई देउवाको फोन, डडेल्धुरा पुग्दा देउवालाई प्रचण्डको फोन


काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन्।

प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो। डडेलधुरामा स्वागत भन्नुभएको छ। उहाँले अभियान सफल रहोस् भनेर शुभकामना दिनुभयो । अन्य दलका नेताहरूले पनि हामीलाई न्यानो स्वागत गर्नुभएको छ ।’

शुक्रबारबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि प्रचण्डलगायतका शीर्ष नेताहरू देउवाको गृहजिल्ला पुगेका थिए ।

यसअघि १५ म‌ंसिर २०८० मा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति देउवासँग फोन वार्ता गरेका थिए । मेची–महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले देउवालाई फोनमा कुराकानी गरेका थिए ।

वैशाख पहिलो साता स्वास्थ्य उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गर्ने बेला देउवाले प्रचण्डलाई फोन गरेका थिए । देउवाले प्रचण्डलाई फोन गरेपछि राजनीतिमा सनसनी मच्चिएको थियो । धेरैले अब कांग्रेस र माओवादीबीच फेरि गठबन्धन हुन लागेको अनुमान गरेका थिए । तर बैंककबाट फर्केलगत्तै त्यो त्यत्तिकै सेलाएको थियो । अहिले प्रचण्डले देउवासँग के कुराकानी गरे भन्ने बाहिर आएको छैन । तर गभर्नरलगायत अन्य विषयमा कांग्रेस र एमालेको सम्बन्ध ठीकठाक भने छैन ।