धेरै पछि मिनी संसदमा देखिए गगन थापा


काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा प्रतिनिधिसभाको बैठकमा जान छाडेपछि अनेक चर्चा परिचर्चा सुरु हुन थालेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल र अहिले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै शक्तिशाली महामन्त्री थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएकामा विभिन्न अड्कलबाजी सुरु हुन थालेको हो ।

वर्तमान सरकारमा कांग्रेस पनि सहभागी छ । तर यसपटक गगन र विश्वप्रकाश दुवैले नीति तथा कार्यक्रममाथिको छलफलमा भागै लिएनन् । नीति तथा कार्यक्रम पारित भइसकेको छ । अहिले प्रि–बजेटमाथि छलफल जारी छ । तर गगन र विश्वप्रकाश संसद् गएका छैनन् । विश्वप्रकाश सगरमाथा आरोहणको तयारीमा छन् । एक साताभन्दा बढी लामो समय विदेश भ्रमणमा रहेका गगन अहिले काठमाडौंमै छन् । सरकारले ल्याएका नीति तथा कार्यक्रमप्रति असन्तुष्ट भएकैले कांग्रेसका दुवै महामन्त्रीले छलफल बहिष्कार गरेको उनी निकट नेताहरुको भनाइ छ ।

धेरै समयपछि गगन संसदीय समितिको बैठकमा उपस्थित भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको त्रिहत्तरौँ बैठकमा सहभागी भई उनले आफ्नो धारणा राखेका छन् । सोही बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिवाट विधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ । कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने बिषयमा पनि समितिमा सहमति जुटेको छ । निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ। कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेरबारे सत्तारुढ कांग्रेस र एमाले नै विभाजित थिए । तर शुक्रबार भने दुवै दल एक ठाउँमा उभिएका छन् ।