काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीमा कुटपिटका घटना बढेर संगठनकै बदनामी भएपछि महानिरीक्षक दिपक थापा चिन्तित भएका छन् । सत्य सेवा सुरक्षणम्को मूल नारा लिएर शान्ति सुरक्षामा खटिएको प्रहरी नै सर्वसाधारणमाथि मात्रै होइन, संगठनकै सहकर्मीमाथि कुटपिट हुन थालेपछि नेपाल प्रहरी र नेतृत्वको आलोचना हुँदै आएको छ ।
उनले ड्यूटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्नेजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने चेतावनी दिए । ‘त्यसमाथि पनि पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो’, आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजी थापाले भने ।
गत साता नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरले सिभिल पुलिसका जवानमाथि हातपात गरेको दृश्यले प्रहरी संगठन बदनाम भएको कुरालाई इङ्गीत गर्दै थापाले त्यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई सजाय गर्ने संगठन विधिअनुसार कारवाही हुन्छ नै, अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन ।’
थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् । उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सतर्क) रहन भने । ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला,’ उनले भने । उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहन निर्देशन दिए ।
प्रतिक्रिया